Don't miss our holiday offer - up to 50% OFF!
किड्स स्टार इन्टरनेशनल नेपालका विजेताले भियतनाममा अन्तर्राष्ट्रिय फेसन शोमा नेपालको गौरवपूर्ण प्रतिनिधित्व
काठमाडौं । द फेसन एरा प्रा.लि.द्वारा आयोजित किड्स स्टार इन्टरनेशनल नेपाल का विजेताहरूले भियतनाममा सम्पन्न अन्तर्राष्ट्रिय फेसन शोमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।
प्रतियोगिताको जुनियर तथा सिनियर विधाका विजेता नवाङ गोले, आराभी कडायत, अभिया बण्डारी र अभया बराल लाई द फेसन एरा प्रा.लि.ले भियतनामसम्मको एकतर्फी हवाई टिकट, अन्तर्राष्ट्रिय फेसन शोमा सहभागी हुने अवसर तथा विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्रदान गरेको थियो।
नेपालका प्रतिनिधिहरूले चार दिन भियतनाममा बिताउँदै त्यहाँको संस्कृति, पर्यटन तथा अन्तर्राष्ट्रिय वातावरणको अनुभव लिएका थिए। उनीहरूले विभिन्न देशका बालप्रतिभाहरूसँग अन्तरक्रिया गर्नुका साथै अन्तर्राष्ट्रिय र्याम्पमा आत्मविश्वासका साथ नेपालको पहिचान प्रस्तुत गरेका थिए।
यस अन्तर्राष्ट्रिय प्रतियोगिताको ग्राण्ड फिनाले १२ जुलाई २०२६ मा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल, भियतनाम, सिंगापुर, दक्षिण कोरिया, भारत र इजरायल गरी ६ देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यस सम्पूर्ण अन्तर्राष्ट्रिय यात्राको नेतृत्व नेपालकी नेशनल डाइरेक्टर मल्लिका दाहाल ले गरेकी थिइन्। उहाँले नेपाली टोलीलाई भियतनामसम्म सुरक्षित रूपमा नेतृत्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँकै समन्वय, व्यवस्थापन र सक्रिय पहलका कारण नेपाली बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गरेका हुन्।
द फेसन एरा प्रा.लि.का प्रबन्ध निर्देशक आनन्द सिंह ले नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय अवसर उपलब्ध गराउनु संस्थाको प्रमुख उद्देश्य रहेको बताउँदै आगामी दिनमा पनि यस्ता अवसरहरू निरन्तर सिर्जना गरिने जानकारी दिए। उहाँले नेपाली प्रतिभालाई विश्व मञ्चसम्म पुर्याउने अभियानलाई अझ सशक्त रूपमा अघि बढाइने विश्वास व्यक्त गर्नुभयो।
द फेसन एरा प्रा.लि.ले विगतदेखि नै नेपाली बालबालिका तथा युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर उपलब्ध गराउँदै आएको छ।
